नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति नेपालकै जगमा अडिएको हुनुपर्ने धारणा राख्दै आउनुभएको हो । राजनीतिमा पूर्ण लोकतान्त्रिक प्रणाली, अर्थ नीतिमा शोषणरहित समाज र सामाजिक नीतिमा विभेदरहित समानतालाई उहाँले काङ्ग्रेसको नीति नै बनाउनुभयो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद भनेका स्वतन्त्र र स्वेच्छापूर्ण सह-सम्बन्ध, नेतृत्व छनोट, वैचारिक विविधता तथा आत्मनिर्णय गर्ने अधिकार हरेक नागरिकलाई हुनुपर्ने, विकास र आर्थिक एवं सामाजिक समानता हुनुपर्ने जस्ता विषयलाई समेट्ने माध्यम हुन् भन्दै तिनलाई नेपाली काङ्ग्रेसको लक्ष्य बनाउने कार्य उहाँले नै गर्नुभएको हो । उहाँको विश्वास भनेको लोकतान्त्रिक परिपाटी आफैंमा सबै वर्गको हित गर्ने प्रणालीभन्दा जनहितकारी आर्थिक प्रणालीलाई लागू गर्न मार्गप्रशस्त गरिदिने प्रणाली हो र यो बलियो हुनका लागि दिगो विकास, उपयुक्त वितरण प्रणाली तथा शोषणको अन्त्य आवश्यक छ र लोकतान्त्रिक किसिमले यो लक्ष्य प्राप्त गर्ने माध्यम भनेको समाजवाद नै हो, तसर्थ समाजवादको सही प्रयोगले लोकतन्त्र बलियो हुन्छ र त्यसपछि राष्ट्रियता बलियो हुन्छ भन्ने हो । शोषणको अन्त्य र सबैलाई आम्दानीको स्रोत, विकेन्द्रीकरणमा आधारित शासनप्रणाली, राजनीतिसमेत विभिन्न सामाजिक कार्यमा सबै जनताको पहुँच, शिक्षा, विभेदको अन्त्य, जनसहभागितामा आधारित कार्य, असंलग्न विदेश नीतिलाई देशमा स्थापित गर्ने कार्य उहाँबाट भएको हो ।
सन् १९१४ मा जन्मनुभएका बी.पी. कोइराला २०३९ साल साउन ६ गते स्वर्गे हुँदासम्म सचेत भएदेखि जनताको हित र उन्नतिका लागि ज्यानको बाजी लगाएर नै अगाडि बढिरहनु भयो । उहाँको जीवनमा समानता, विकास, जातीय भेदभावको प्रतिकार, महिला अधिकारको रक्षा, विवेकको प्रधानता जस्ता कुरा सधैँ महत्त्वपूर्ण रहे र विश्वनेताका रूपमा उहाँ यिनै कारणसमेतले स्थापित हुनुभयो । तीक्ष्ण बुद्धिका धनी, दार्शनिक, साहित्यकार एवं राजनीतिक व्यक्तित्व बी.पी. कोइराला राजनीति, साहित्य र दर्शन जहाँ पनि समानताको पक्षमै र मानवीय हित, मानवीय संस्कृतिकै पक्षमा उभिनुभयो । उहाँले साम्यवादी आर्थिक प्रणाली पूर्ण लोकतान्त्रिक किसिमले लागू गरिन्छ भने त्यो जनहितकारी र समाजवादी हुन्छ भन्ने धारणा राख्नुभएको हो । राजनीतिज्ञले राजनीतिमा दमन र अर्थनीतिमा शोषणको अन्त्य गर्दै निमुखालाई इन्साफ दिँदै विकास गर्नु राजनीतिको मुख्य लक्ष्य हो र त्यसलाई लोकतन्त्रले कसी लगाउने काम गर्दछ भन्ने धारणा बारम्बार राख्नुभएको हो । कार्लमाक्र्सले मानिस रोटीबाट सञ्चालित हुन्छ भन्नुभएकोमा मानिस विवेकशील प्राणी हो भन्दै बी.पी. कोइरालाले मानिस ‘ब्रेड’ले होइन ‘ब्रेन’ले सञ्चालित हुन्छ, नत्र माक्र्सले भाषण गर्नु र पर्चा छर्नुको औचित्य के ? भन्ने सोच्नुभयो र प्रश्न पनि गर्नुभयो । लोकतन्त्रको विपक्षमा सम्झौता हुन सक्दैन, राष्ट्रियताको संरक्षण लोकतन्त्रले गर्दछ र समाजवादबाटै मानिसले मानवीय धरातल पाउँछ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो ।
बी.पी. कोइरालाले जातीय भेदभावको जहिले पनि विरोध गर्नुभयो । सामाजिक असमानताको विपक्षमा उभिनुभयो । साहित्यका क्षेत्रमा ‘मोदिआइन’ उपन्यासमा हिंसाप्रति चिन्ता, ‘सुम्निमा’ उपन्यासमा दुईवटा संस्कृतिको मेलबाट नयाँ मानवीय संस्कृतिको विकास, ‘तीन घुम्ती’ उपन्यासमा लैङ्गिक समानताको पक्षमा, अन्य रचनामा पनि आर्थिक, सामाजिक, सांस्कृतिक असमानताको विपक्षमा र विकासले गरिबलाई समेट्नुपर्दछ भन्ने पक्षमा उहाँले कलम चलाउनुभएको छ ।
विकास र समानताको समायोजन गरिनुपर्दछ र त्यसो भएन भने समानता गरिबीको वितरणमात्र हुनपुग्ने उहाँको धारणा थियो । अहिले विकासका पूर्वाधारलाई तहसनहस गर्ने र उद्योगहरू बन्द गर्नेहरूले समानताका बारेमा बी.पी.का यी धारणा बुझ्नु आवश्यक छ । उहाँले राजनीतिज्ञले आँखा र कान खुला राख्नुपर्दछ भन्न्ाुभएर यसलाई धर्म र संस्कार होइन वैज्ञानिकरूपले हेर्न आग्रह गर्नुभएको थियो । बी.पी.ले भन्नुभएको थियो- ‘राजालाई लोकतन्त्र चाहिँदैन भने जनतालाई पनि राजतन्त्र चाहिँँदैन, हाम्रो लडाइँ सधैँ राजसंस्थासँग नै हुने हो भने राजसंस्थालाई किन मान्ने ?’
त्यस्तै माओवादीहरूले बी.पी.ले बन्दुक र सेनाको आवश्यकताको कुरा गर्नुभएको भन्ने भ्रम दिन खोजेको देखिन्छ । वास्तवमा उहाँले ‘लोकतन्त्रको सुरक्षाका लागि अस्थायीरूपमा बन्दुकको महत्त्व हुनसक्दछ तर त्यो पनि लोकतन्त्रका विरोधीमाथि, लोकतन्त्रको विरोधमा होइन’ भन्ने धारणा राख्नुभएको थियो ।
राजनीतिका बारेमा उहाँको विश्लेषण यस्तो छ- जब म नेपालको कल्पना गर्दछु- त्यसबेला तिनै गरिब दाजुभाइ, दिदीबहिनीको तस्बिर मेरो अगाडि आउँछ । मैलो लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको तस्बिर । अनि मलाई लाग्दछ- यी रोगी, खान नपाएको अनुहार पो त हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो जाओस्, केटाकेटीले पढ्न पाऊन्, रोगीलाई औषधिमूलोको व्यवस्था होस् भनेर हामी राजनीतिमा लागेका हौँ ।
राष्ट्रियताको सम्बन्धमा पनि उहाँको दृष्टि प्रष्ट थियो । बी.पी. भारत र चीनसँगको सम्बन्ध असल मित्रको र असंलग्नतामा आधारित हुनुपर्दछ र राष्ट्रियतालाई सस्तो राजनीतिको विषय बनाउनुहुँदैन भन्नेमा सजग हुनुहुन्थ्यो । बी.पी.को राष्ट्रवादको चुरो समाजवाद र मानवताको जगमा अडिएको पाइन्छ ।
उहाँले- म गाउँको बेरोजगारीलाई हटाउन चाहन्छु । … मलाई नेपाली मानिसमाथि विश्वास छ । म राजनीतिमा लाग्ने थिइँन यदि जनतामाथि विश्वास नभएको भए । यो देशको ‘तकदीर’माथि मलाई यत्रो विश्वास नभएको भए म १० वर्ष जेलमा बस्दा र फाँसीको फन्दाको नगिच पुग्दासम्म बाँचिरहने थिइँन । … म ‘युनिभर्सल कल्चर’ -विश्व संस्कृति)मा विश्वास गर्दछु । … हामीहरूको जस्तो अवस्था (अव्यवस्थित)मा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्गमात्र सिर्जना गर्दछ, जसको सम्पन्नताको देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन, त्यो सम्पन्नता केवल विदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्नेर्े … जस्ता कुरामा आधारित छ । … नाङ्गा पैताला र झुत्रो लुगा लगाएकालाई सोध्नुहोस्, नेपाली नागरिकलाई सोध्नुहोस्, जे जवाफ पाउनुहुन्छ त्यही गर्नुहोस् । त्यही तपाईंको कर्तव्य हो । … जन अधिकारको अपहरणले राजनीतिमा दमन र अर्थतन्त्रमा शोषणको रूप लिन्छ । म यी दुवै कुराको विरोधमा छु । … समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ- त्यो हो समानता । समानता भनेको राजनीतिक तथा आर्थिक समानता । … लोकतन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनि कुरा सुन्ने, सहनशील तर सुन्नेमात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पद्धति हो । … म गाउँमा नहर, पानी, स्वास्थ्य, शिक्षा, आवास र सांस्कृतिक समस्याहरूलाई सर्वाधिक महत्त्व दिन्छु’ भन्ने जस्ता महान् विचार धेरै दिनुभएको छ । उहाँका यी विचारले हामीलाई सही बाटोमा अगाडि बढ्न सहयोग गर्नेछन् ।
उहाँले २००७ सालको लोकतन्त्रको सफलताका लागि गर्नुभएको आन्दोलनदेखिको जीवन नै आन्दोलनमा बिताउनुभयो । यो आन्दोलन लोकतन्त्र र विकास, समानता र विभेद अन्त्यका लागि थियो । महामानव बी.पी.ले कसैलाई पनि निषेध गरेर राजनीति हुँदैन र जनताको हितका लागि राष्ट्रका शक्तिहरूबीच मेलमिलाप हुनु आवश्यक छ, त्यो मेलमिलाप विकास, समानता, लोकतन्त्रका लागि हुनुपर्दछ भन्ने धारणा राख्नुभएको थियो । राष्ट्रिय मेलमिलापको औचित्य अहिले पनि छ । उहाँ ज्यानको बाजी लगाएर २०३३ सालमा स्वदेश आउँदा राजालाई चुनौती दिएर आउनुभएको थियो कि लोकतन्त्रका लागि मेलमिलाप र जनताको हितका लागि मेलमिलाप गर्न राजा तयार हुनु आवश्यक छ । अन्यथा राजासँगको जनताको र काङ्ग्रेसको सम्बन्धको औचित्य समाप्त हुनेछ । अहिले पनि एकदलीय र बहुलवादविरोधी सोच त्यागेर हामी मेलमिलापको आधारमा अगाडि बढ्न सक्नुपर्दछ अन्यथा विकल्प सबैका लागि भयावह हुनसक्दछ भन्ने सन्देशका लागि उहाँको सोच महत्त्वपूर्ण छ ।
बी.पी. कोइराला साहित्य, दर्शन, राजनीतिसमेतका माध्यमबाट समाजको प्रगति र उत्थानका लागि काम गर्ने र देशलाई भावनात्मक रूपमा जोड्ने पहिलो नेपाली हुनुहुन्थ्यो । नेताहरूले आफूलाई अर्कै तहको र पार्टीका कार्यकर्ताहरूलाई अर्कै तहका मान्ने कार्य, जनता र पार्टीका कार्यकर्ताबीच अन्तर वा दूरी, अध्ययनको कमी, नैतिकताको कमी जस्ता कुराले दललाई कहिल्यै पनि फाइदा गर्दैन भन्ने धारणा उहाँले राख्नुभएकोमा काङ्ग्रेसको महाधिवेशन आउँदै गरेको अवस्थामा यो पक्षको अझ पारख गर्ने समय आएको छ भन्ने देखिन्छ । ठीक लक्ष्यको छनोट, समय-समयमा त्यसलाई कसी लगाउने, आधुनिकता र समयसँग तालमेल गराउने कार्य, त्यसपछि सफलता असफलताभन्दा पनि उचित लक्ष्यप्रतिको समर्पण महत्त्वपूर्ण छ भन्ने बी.पी. कोइरालाको मान्यता हाम्रा लागि सधैँ प्रेरणाका स्रोत बन्नेछन् ।
स्रोतः गोरखापत्र
|